\
समाचार

नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर आज हुँदै

भक्तपुर । नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदैछ । ‘पैदल र पेडल मैत्री शहर’ भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन् ।

भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले शनिबारका दिन हुने कोरा भक्तपुर साइकल यात्रामा एक हजार जना सहभागीले नाम दर्ता गरिसकेका छन् । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा १०० जना भन्दा बढी महिला सहभागीले नाम दर्ता गराइसकेका छन् ।

अध्यक्ष बालाका अनुसार यो पटकको कोरा भक्तपुरमा सहभागीहरूको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ । जसमा १०० जना भन्दा महिलाहरू पनि सहभागी हुँदैछन् । सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ ।

नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइकलिङ कार्यक्रम हो । भक्तपुरमा साइकल कनेक्ट भक्तपुरले कोरा साइकलिङ च्यालेन्ज गर्नुको मुख्य कारण भनेको एक स्थापित साइकलिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ ।

कोरामा हरेक उमेर समूह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने हुँदा धेरै भन्दा धेरै साइकल प्रेमीहरू सँग जोडिने अवसर पनि हो । यस कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ । कोरा भक्तपुरले साइकलिङलाई मात्र प्रोत्साहन गर्ने होइन, भक्तपुरलाई पनि नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

आफूहरुले पनि लामो समयदेखि वातावरण मैत्री इको प्यानल उत्पादन गर्दै आएको र वातावरण मैत्री साइक्लिङ कल्चरलाई प्रवर्द्धन गर्न विगतका वर्षहरुमा झै यसपाली पनि कोरा भक्तपुरमा स्पोन्सर गरेकाे कुरा नेपाल इको प्यानलका सीईओ इन्जिनियर कृष्ण भक्त दुवालले बताए ।

Leave a Reply