रासस सेवालाई परिस्कृत गर्न सेवाग्राहीको सुझाव
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का सेवाग्राहीले समाचार सेवालाई परिस्कृत गर्न सुझाव दिएका छन् ।
‘सेवाग्राहीका दृष्टिमा रासस’ विषयक आज राससमा आयोजित छलफलमा सहभागी सेवाग्राहीले राससको समाचार सेवा प्रभावकारी बन्दै गइरहेको भन्दै सेवालाई थप सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
राससले औपचारिकभन्दा अनौपचारिक समाचार, खोज तथा अनुसन्धानमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं समसामयिक विषयका विश्लेषणात्मक समाचार, पुस्तक चलचित्र, नाटक समीक्षालगायत समाचारलाई पनि राससले प्राथमिकता दिनुपर्नेमा सेवाग्राहीको सुझाव थियो ।
सेवाग्राहीको सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाइने बताए । उनले भने, “सुधारको प्रयास कहिल्यै पनि अन्त्य हुँदैन । सेवाग्राहीको कार्यान्वयनयोग्य सुझावलाई ग्रहण गर्दै राससले समाचार सेवालाई अझ सुदृढ र प्रभावकारी बनाउछौँ ।”
कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले समाचारमा विविधता कायम गर्दै ‘विचार’ स्तम्भ र मातृभाषामा पनि समाचार सेवा सुरु गरिसकेको जानकारी दिँदै आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाइने बताए । “लेख रचनामा नयाँ ‘सेगमेन्ट’ सुरु गरेका छौँ, त्यसमा राम्रो प्रतिक्रिया पाएका छौँ, अनौपचारिक र खोजमूलक समाचारलाई पनि प्राथमिकता दिएका छौँ, यसलाई आगामी दिनमा थप सुधारेर लैजान्छौँ, सेवाग्राहीले पनि राससको सेवालाई उचित स्थान दिनुपर्छ”, कार्यकारी अध्यक्ष झाले भने ।
राससका महाप्रबन्धक सिद्धराज राईले सेवाग्राहीसँग निरन्तर छलफल गर्दै रासस सेवालाई सहजरूपमा उपलब्ध गराउने तथा सेवाग्राहीको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले पछिल्लो समय राससले राजनीतिका अलावा सामाजिक, आर्थिक विषयवस्तुका समाचार र फिचर तथा विषय विज्ञको विचारलाई बढी प्राथमिकता लिएको उल्लेख गरे ।
अर्का सञ्चालक समिति सदस्य डिल्ली भट्टराईले सेवाग्राहीबाट आएका सुझावले राससको समाचार सेवालाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नायब महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमालले सेवाग्राहीको चाहनाअनुरुप रासस सेवालाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले सेवाग्राहीको सुझावलाई ध्यान दिएर राससले खोजी र अनुसन्धानमूलक समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने दृढता व्यक्त गरे ।
प्रधान-सम्पादक एकराज पाठकले राससले सबै प्रकारका समाचार सेवालाई समयसापेक्ष, सन्तुलित, वस्तुनिष्ठ र प्रभावकारी बनाउँदै गएको बताए ।
नेपाल न्यूज डटकमका सम्पादक राजु सिलवालले रासस समाचार सेवाको महत्व दिनप्रतिदिन बढिरहेको भन्दै समाचार सङ्ख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
नेपाली हेडलाइनका प्रधानसम्पादक उपेन्द्र पोखरेलले राससको सेवा प्रभावकारिता र सान्दर्भिकता अझै बढिरहेको भन्दै खोजमूलक लामा समाचार र आलेखलाई प्राथमिकता दिनुपर्ने बताए ।
टेक्नोलोजी खबर डटकमका सम्पादक अनुजराज ढुङ्गेल र नेपालपत्र डटकमका सम्पादक गोपाल भण्डारीले विज्ञान र सूचना प्रविधि सम्बन्धित समाचारलाई राससले उचित स्थान दिनुपर्ने सुझाव दिए ।
सिटी पोष्ट दैनिकका नेत्रप्रसाद न्यौपानेले, फरकधार डटकमका मिलन दाहाल, गोठालो डटकमका विष्णुकुमार कार्की, मुगलानी खबरका दिलमाया तामाङ, समुन्नत नेपालका बाबुराम आचार्य, सन्ध्याकालीन दैनिकका तारा सुवेदीले खोजी र आलेखलाई प्राथमिकता दिन सुझाव दिए ।