१४ किलो सुन तस्करी प्रकरणमा तीन सरसफाइ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १४ किलो सुन तस्करी प्रकरणमा तीन जना सरसफाइ पक्राउ परेका छन् । छानबिन समितिले सोधपुछका लागि भनेर उनीहरुलाई लगिएको बताइएको हो ।
बाहिरी कम्पनीबाट करारमा राखिएका सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको हो ।
छानबिन समितिका प्रमुख मणिराम पौडेलका अनुसार दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएको भएपनि सुपरभाइजर पाण्डेलाई बुधबार राति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो ।
गत मंसिर २१ गते राती दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।