\
मुख्य समाचारसमाचार

नक्कली भनेर पक्राउ गरिएका सक्कली डाक्टर ४ दिन हिरासतमा बसेर रिहा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् ।

गत साउन २५ गते ब्युरोले महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो । यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएर सक्कली चिकित्सक भएको पुष्टि भएपछि थुनामुक्त गरिएका हुन् ।

यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलले बताएलगत्तै काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

डा. यादव र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नामबाहेक अरु नाम थर मिलेको भेटिएको हो । यसरी सीआईबी र नेपाल मेडिकल काउन्सिलको गम्भीर लापरबाहीले नक्कली भन्दै सक्कली डाक्टर ४ दिन हिरासतमा बसेका हुन् ।

सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेकोमा शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् ।

Leave a Reply