कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट आज सर्वोच्च अदालतका तीन न्यायाधीशहरूको पूर्ण इजलासमा परेको छ ।
कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको हो ।
कोसी प्रदेश सरकारविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आजदेखि पूर्ण इजलासमा हुने भएको हो । सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएपछि उक्त रिटमाथि पूर्ण इजलासमा आजदेखि नै सुनुवाइ हुने भएको हो ।
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दे गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।