आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
काठमाडौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर धुमधामसाथ इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुशीयालीका साथ मनाइँदै छ ।
गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२३ सुरु भएको हो । यस अवसरमा शनिबार बेलुकीदेखि नै मानिस नयाँ वर्ष मनाउन भेला भएका थिए । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको हो । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । इस्वी संवत्को नयाँ वर्षका अवसरमा नेपालमा सरकारले सार्वजनिक बिदा दिएको छैन ।