वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको प्रसाईंले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको छन् ।
मुटु र प्रोष्टेटको समस्या रहेका जोशीमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरेर रगत परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा थप जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो ।
अस्पताल स्रोतका अनुसार उपचाररत मुटु र फोक्सो पनि दीर्घरोगी जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो ।
जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा र कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा २०२६ सालमा गरी तीनपटक मदन पुरस्कार पाएका थिए । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।