आजबाट दैनिक २५० देखि ३५० फोहोरका गाडीहरु बञ्चरेडाँडा पुग्ने
काठमाडौँ । आजबाट दैनिक २५० देखि ३५० फोहोरका गाडीहरु बञ्चरेडाँडा पुग्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हिजो सामाजिक संजाल फेसबुकमार्फत कुनै अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने बताएका थिए ।
हिजो फोहोरका १५२ वटा गाडीहरु बञ्चरेडाँडा पुगेका थिए । तर काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्नेमा उनले जोड दिएका छन् ।
उनले काठमाडौँ महानगरले कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने नदिने पनि प्रतिबद्धता पनि जनाएका छन् । थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको पनि उनले प्रष्ट पारेका छन् ।
अज्ञात समूहले बञ्चरे डाँडामा फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनदेखि काठमाडौंको फोहोर उठेको थिएन । सो क्षेत्रका स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै समेत फोहोर विसर्जनमा अवरोध गरेर पटक-पटक आन्दोलन गर्दै आएका छन् ।
उनले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिने पनि जनाएका छन् । काठमाडौँ महानगरको अन्तिम लक्ष्य भनेको फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुने पनि उनले बताएका छन् ।