\
कोशी प्रदेशमुख्य समाचारसमाचार

सप्तकोसीले बाँध फुटाएर बस्तीमा पसेपछि स्थानीयले घर छाड्न थाले

उदयपुर । सप्तकोसी नदीले बाँध फुटाएर बस्तीमा पसेपछि स्थानीय बासिन्दाहरुले घर छाड्न थालेका छन् । सप्तकोसी नदीले बाँध फुटाएर भङ्गालो बस्तीमा पसेपछि स्थानीयले घर छोडेर सुरक्षित स्थानतर्फ जान लागेका हुन् ।

लगातारको वर्षासँगै आएको बाढीले पश्चिमतर्फ कटान तीव्र पारेको नदी उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटबाट बस्ती प्रवेश गरेको हो । आज बुधबार बिहान करीब ४ बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ अघि बढ्दा बेलकाका पाँचवटा वडा जोखिममा परेका छन् ।

भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा सप्तकोसीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको हो । सप्तकोसी नदीमा पानीको बहाव तीब्र हुँदा पनि भारतले ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले कटान गरेर बाँध फुटेको हो । आज बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो ।

सप्तकोसीको बाँध फुटपछि हजारौं घर परिवार उच्च जोखिममा रहेका छन् । कोसी पसेपछि त्यो क्षेत्र अहिले जलमग्न भएको छ । सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान गर्न थालेको हो ।

योसँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन् । कोसी पश्चिम तटबन्दतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन् ।

कोसी फुटेर आएको पानी एबिसी टप्पुको दुवैतिरबाट बग्ने र क्षति गर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । सुनसरी र उदयपुरको सिमाना भएर बग्ने कोसी अहिले फुटेको स्थानबाटै २०४५ सालसम्म बगेको स्थानीयले बताएका छन् ।

पछि कोसी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो । तर अहिले पुनः कोसी पश्चिमतर्फ नै फर्किएका कारण बेलकामा मात्रै १० हजार घरधुरी डुबानको जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको छ । लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

Leave a Reply