दुर्घटनावाट एकको मृत्यु
२३ वैशाख, काठमाण्डौ । टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति ११ बजे बा३च १६५४ नम्बरको जीप र बा ४० प ५७७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन् । दुर्घटनावाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले जानकारी दिए ।
घाइते बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।(रासस)