सुनसरीमा बाढीले टेम्पो बगाउँदा १ जनाको मृत्यु
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले टेम्पो बगाउँदा १ जनाको मत्यु भएको छ । आइतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाएको थियो ।
टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान-१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।
खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घाईते चालकलाई उपचारको लागी धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।