तारा एयरको जहाज दुर्घटना (अपडेट) : १६ जनाको शव भेटियो
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले १६ जनाको शव भेटाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै नागरिक उड्डयन प्राधिकरणले घट्नास्थलबाट प्राप्त जानकारी अनुसार हालसम्म १६ जनाको शव भेटिएको बताएको हो । प्राधिकरणले भेटिएका १६ जनाको शव एकत्रित गरिएको र पहिचान हुन बाँकी रहेको पनि बताएको छ ।
हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।
घट्ना स्थलबाट प्राप्त जानकारी अनुसार हाल सम्म १६ जनाको शव भेटिएको, एकत्रित गरिएको र पहिचान हुन बाँकी रहेको छ ।#9NAET_Tara_Air_Crash
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) May 30, 2022