याक एण्ड यती होटलका संचालक राधेश्याम सर्राफको निधन
काठमाडौं । याक एण्ड यती होटलका संचालक राधेश्याम सर्राफको निधन भएको छ । नेपालको पर्यटन क्षेत्रका ‘किङ’का रुपमा परिचित सर्राफको दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको सोमबार राती ९२ वर्षको उमेरमा निधन भएको हो ।
दक्षिण एशिया क्षेत्रमै चिनिएका होटेलियर सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा संचालक हुन् । सर्राफ ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका थिए ।
उनी सन् १९६३ देखि काठमाडौंमा नियमित बस्दै आएका थिए । उनले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोलेका थिए । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलको सराफले सन् १९९७ मा सुरु गरेका थिए ।
सराफको पार्थिव शरीर दिल्लीबाट काठमाडौं नै ल्याएर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ । उनका दुई जना छोराहरु उमेश र अरुण छन् ।