सिंहदरबारभित्र एक्कासी गोली चलेपछि…
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय लगायत अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू भएको सिंहदरबारभित्र आज बुधबार एक्कासी गोली चलेको छ ।
गोली किन चल्यो भन्ने कारण अझसम्म खुलेको छैन । तर गोली चलेपनि कसैलाई नलागेको प्रहरीले बताएको छ । आज दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले बताएको छ ।
उनले के कति कारणले गोली चलाइन् भन्ने थप विवरण भने आउन बाँकी छ । भारतीसँग प्रहरीले सोधपुछ गरिरहेको छ र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।
पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भने भएन । प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।