७३ यात्रुको ज्यान बचाएका बुद्ध एयरका पाइलट शेर्पालाई उडान भर्नमा रोक
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले ७३ यात्रुको ज्यान बचाएका बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ । घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्ध एयरले जनाएको छ ।
घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमानका पाइलट शेर्पाले अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरेका थिए ।
विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो । बुद्धएयरको नाइन एन-एएनआइ कल साइन भएको जहाजमा ७३ यात्रु रहेका थिए।