नागढुङ्गाबाट ९५ लाख नगदसहित २ जना भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नगदसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।
उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।
सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख गरी जम्मा ९५ लाख बरामद गरेको छ । उनीहरु दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं राखेर अनुसन्धान थालिएको छ ।