यी हुन् अहिलेसम्म देउवा सरकारले दिएको विभूषण अस्वीकार गर्नेहरु
काठमाडौँ । संविधान दिवस २०७८ को अवसरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले दिएको विभूषण, अलङ्का र पदक अस्वीकार गर्नेहरुको संख्या एकपछि अर्को बढिरहेका छन् ।
संविधान दिवसका अवसरमा भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन् ।
पूर्वमन्त्री पीएल सिंह, इकागज डटकमका प्रधान-सम्पादक हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’, थापालाई ‘सुप्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।
सिंहले वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको बताएका छन् । पत्रकार थापाले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
थापाले विगतमा आफूलाई पदकका लागि पटक-पटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको प्रष्ट पारेका छन् ।
यस्तै कार्टुनिष्ट सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए । सायमीले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’