यस कारण आएका रहेछन् भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल
काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको ४ दिने भ्रमणमा आएका छन् । चौथाइवालेले हिजै साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।
हिजो आइतबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा. महतले बताएका थिए । सहमहामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् ।
उनले प्रधानमन्त्री देउवालाई भारतको सत्तारुढ दल भाजपाका तर्फबाट बधाई तथा शुभकामना समेत दिएका छन् । बालुवाटार विशेष स्रोतका अनुसार चौथाइवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत लिएर आएका छन् ।
चौथाइवालेले काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चौथाइवालेले चासो राखेको बुझिएको छ । उनी नेपालको विकसित राजनीतिक घटनाक्रमपछि नेपाल आएका हुन् ।
यसैगरी चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत शिर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।