\
समाचार

बाँध बनेपछि बस्ती सुरक्षितः स्थानीयवासीमा छायो खुशियाली

लहान, २६ भदौ । बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका–१७ तरेगना गोविन्दपुरस्थित करिब एक हजारभन्दा बढी घर परिवार बसोबास रहेको बस्ती डुबान र कटानको चपेटाबाट सुरक्षित भएका छन् ।

सिरहा र सप्तरीको सीमानामा पर्ने बलान नदीमा आउने बाढीका कारण वर्षेनी डुबान र कटानको समस्या खेप्दै आएका तरेगना गोविन्दपुरका स्थानीयवासी दुई हजार ५०० मिटर लामो बाँध बनेपछि उक्त समस्याबाट मुक्त भएका हुन् ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको नदी खोला नियन्त्रण व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा नदी उकास जग्गा संरक्षण एवम् सदुपयोग उपभोक्ता समितिले बलान खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर बाँध निर्माण गरेका हुन् । बाँध निर्माण भएपछि बस्ती संरक्षणका साथै करिब दश हजार बिघाभन्दा बढी जग्गा नदी उकास भएका छन् । यसले नदी छेउछाउका जग्गाको मूल्य समेत ह्वातै बढाएको छ ।

बाँध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीय किसान बलान नदीबाट उकास भएका जग्गामा धमाधम धान रोपाइँका साथै नर्सरी लगाउन थालेका छन् ।”नदीमा बाँध नहुँदा वर्षेनी बाढीले खेतीयोग्य जग्गा कटान गर्नुको साथै बाढी गाउँमै पस्ने जोखिम थियो”, तरेगाना गोविन्दपुरका भोला राम भन्छन्, “पहिला पहिला वर्षायाम लाग्नासाथ कुन बेला बाढी आउँछ भन्ने चिन्ता हुन्थ्यो, तर बाँध बनेसँगै यो चिन्ता हटेको छ ।” “वर्षेनीको बाढीले बस्ती नजिकैको माध्यमिक विद्यालय अन्यन्त्र सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था थियो, उनी भन्छन्, “तर, अब माध्यमिक विद्यालय समेत पूर्णरुपमा सुरक्षित भएका छन् ।” बलान नदीबाट उकासमा परेको करिब १० कठ्ठा जग्गामा दुई÷तीन वर्षदेखि धान, गहुँ खेती गर्दै आएका भोला राम भन्छन्, “यही जग्गाबाट धान उब्जाएर वर्षभरीलाई खान पुगिरहेको छ ।”

नदी उकास जग्गा संरक्षण एवम् सदुपयोग उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सरिफ भन्छन्, “बाँध नबनुञ्जेल कटान भएको जग्गाप्रति कसैको चासो थिएन, अहिले जग्गा उकास भएपछि कतिपय जग्गाधनी आफ्नो जग्गा हो भन्दै खनजोत गरेर धान रोपाइँ गरेका छन् भन्ने कतिपयमा घेरवार गरी वृक्षरोपण गरेका छन् ।” नदी उकासको जग्गाले जग्गा गुमेको मात्र होइन्, यस गाउँका विपन्न र दलित समुदाय समेत लाभान्वित भएका छन् । नदी उकासमा परेको कतिपय जग्गा आफ्नो हो भन्दै जग्गाधनीले खेतीपाती गर्ने गरेका छन् भन्ने खाली रहेको जग्गामा दलित, विपन्न परिवारले धान, गहुँ तथा तरकारी खेती गर्दै आएका छन् ।

वर्षेनी बलान नदीको बाढीले कटान र डुबानको समस्या भोग्दै आएको गोविन्दपुरवासीको पीडा देखेरै बाँध निर्माण गरिएको जिल्ला भूसंरक्षण कार्यालय लहानका प्रमुख प्रविण कुमार सिंह बताउँछन् । “वर्षेनी बलान खोलाको बाढीले यस गाउँमा उत्पात मचाउँदै आएका थिए, बाँध बनाएर अहिले नदीलाई नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन सफल भएका छौ”, उनी भन्छन्, “बलान खोलाको पश्चिम छेउमा करिब २ हजार ५ सय मिटर लामो बाँध बनाएको र त्यसबाट यस क्षेत्रका जनतालाई ठूलो फाइदा भएको छ ।”

नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्ने त्रासका कारण सस्तो मूल्यमा समेत नबिक्ने नदी छेउछाउको जग्गा बाँध निर्माण भएपछि अहिले महँगो मूल्यमा बिक्री हुन थालेको छ । “पहिला पहिला रु. १० हजारको कठ्ठा पनि बिक्री हुन मुस्किल हुन्थ्यो”, स्थानीय शिबनरायण चौधरी भन्छन्, “बाँध बनेपछि अहिले त्यही जग्गा रु. एक लाखदेखि डेढ लाख सम्ममा धमाधम बिक्री हुन थालेको छ ।”

“करिब १० वर्षअघि बलान खोलाको बाढीले कटान गरेको नदी छेउको जग्गा अब उकास हुँदैन भनेर आश मारिसकेको थिए”, गोबिन्दपुरकी अनिता चौधरी भन्छन्, “बलान नदीमा आएको बाढीले मेरो मात्रै करिब एक बिघा जग्गा कटान भएको थियो । कटान भएको उक्त जग्गा अब फिर्ता आउँछ भनेर आशै थिएन्, तर बाँध निर्माण भएपछि गुमेको जग्गा समेत उकास भएको छ ।” जग्गा उकास भएपछि परिवारमा खुशियाली छाएको उनको भनाइ छ ।

यसरी अनिताको मात्र होइन्, बाँध निर्माण भएका कारण लहान नगरपालिकाको वडा नम्बर १७ र १८ तरेगना गोबिन्दपुरस्थित एक हजार बिघा भन्दा बढी जग्गा उकास भएको उपभोक्ता समितिको दाबी छ ।

Leave a Reply