\
राष्ट्रिय समाचारसमाचार

‘सहजतामा हाइहाइ, असहजतामा बाइबाइ’

बनेपा, ७ असार । चितवनका सञ्चारकर्मी अनिल ढकाल बन्दाबन्दीको शुरु–शुरुमा ‘हिँडेरै घर फर्कनेहरुको पीडा’ रिपोर्टिङ सम्झिरहनु हुन्छ । उहाँले भन्नुभयो, “रिपोर्टिङ गरेर समाचार लेखुञ्जेल खुशी भएँ, जब बेलुका फर्केर घरको ढोकामै पुगेँ, दुई वर्षको छोराले बाबा ! भनेर लिन आएपछि होस् नै उड्यो ।” उहाँले त्यसबेलाको अवस्था सम्झँदै भन्नुभयो, “कतै मैले कोरोना त बोकेर आएको छैन ? आफूले आफैँलाई प्रश्न गरेँ र छोरालाई काखमा लिनै सकिनँ ।” भीडमा गएर पत्रकारिता गर्दा कस्तो मान्छेलाई भेँटे होला भनेर अहिले पनि मन पोलिरहने उहाँको भनाइ छ ।

पत्रकारिता पेशाका कारण घरपरिवारसँग खुशीले बस्न सक्ने अवस्था छैन । उहाँले भन्नुभयो, “यस्तो बेला मन साह्रै पोल्दोरहेछ ।” यसरी काम गरिरहँदा कोरोना परीक्षण गरेर ढुक्क हुने अवस्था सिर्जना गर्न स्थानीय सरकारसँग माग गर्दा आरडिटी गर्नसमेत सहयोग नगरेको उहाँले गुनासो राख्नुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको समन्वय र काभ्रेपलाञ्चोक जिल्ला शाखाको संयोजनमा धुलिखेलमा आयोजित ‘सञ्चार क्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसंहिता’ विषयक प्रदेशस्तरीय शनिबार सम्पन्न दुईदिने कार्याशाला गोष्ठीमा उहाँले कोभिड–१९ ले आम सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई पारेको असरमा आफ्नो भोगाइ र समस्या राख्नुभयो । उहाँले अहिले कसैले सहयोग नगरेको सुनाउनुभयो ।

“विगतमा समाचार लेखेर सहयोग पुगेको व्यवसाय, व्यक्ति, संस्था र स्थानीय सरकारका नेतृत्व गर्नेहरु यस्तो बेलामा पत्रकारलाई सहयोग गर्न आग्रह गर्दा पनि वास्ता गर्दैनन् । ” उहाँले भन्नुभयो ।

महासङ्घ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले सञ्चारकर्मी लागि ‘सहजतामा हाइहाइ, असहजतामा बाइबाइ’को अवस्था रहेको छ भन्नुभयोे । स्थानीय सरकार, सङ्घसंस्था र सहयोगी निकाय सबैसँग आग्रह गरे पनि सहयोग नपाएपछि जोखिमका समयमा सञ्चारकर्मीलाई रु दुई लाखको दुर्घटना बीमा र रु एक लाखको कोरोना बीमा गरेर दुःखमा मल्हम लगाउने काम गरेको उहाँले बताउनुभयो । मकवानपुरका सञ्चारकर्मी रिपेश दाहालले महामारीमा सञ्चारकर्मीले आर्थिक अभाव झेल्नु परिरहेको दुःखेसो व्यक्त गर्नुभयो ।

महासङ्घका सिन्धुली जिल्ला अध्यक्ष राजन कार्कीले समाचार सङ्कलनका लागि खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री (स्यानिटाइजर, ग्लोब्स र मास्क) समेत पाउन नसकेको र यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समितिले सहयोगको लागि पहल नगरेको गुनासो गर्नुभयो ।

महासङ्घ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले जोखिमको अवस्थामा काम गर्ने सञ्चारकर्मीलाई उनीहरुले गरेको सूचना समाचार सम्प्रेषणका आधारमा महासङ्घ, स्थानीय सरकार र राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

महासङ्घ दोलखा शाखाका अध्यक्ष जीवन लामा, नुवाकोट अध्यक्ष विष्णु तारुके, सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठलगायतले जिल्लाका सञ्चारकर्मीले कार्यक्षेत्रमा निरन्तर खटिरहेका सञ्चारकर्मीको कोरोना परीक्षण गर्न स्थानीय सरकारसँग आग्रह गर्दा पनि आरडिटी र पिसीआरको सुविधासमेत नपाएको बताउनुभयो । यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समिति तथा प्रेस काउन्सिल नेपालले आवश्यक पहल गरिदिन उहाँहरुले आग्रह गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले संस्थागतरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीको बीमा, स्वास्थ्य परीक्षणलगायत पाँच बुँदे मागपत्र सरकारलाई पेश गरेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको समस्याको सम्बोधनका लागि संस्थागतरूपमा लागिपरेको बताउनुभयो । तत्काल भएको समस्यालाई सम्बोधन गर्न नसके पनि त्यसले पार्ने प्रभावका लागि सकेको सहयोग गर्न सबैसँग समन्वय गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका सङ्घको तर्फबाट संस्थागत रूपमा छलफल गरी सञ्चारकर्मीको हितमा काम गर्न सकिने बताउनुभयो ।

Leave a Reply