समृद्ध काभ्रेपलाञ्चोकको सूचक : राष्ट्रिय गौरवका आयोजना
काभ्रेपलाञ्चोक, ३२ जेठ । नेपालको सङ्घीय राजधानी नजिकको जिल्ला काभ्रेपलाञ्चोकले विकासका हिसाबले ‘बत्तीमुनिको अँध्यारो’ को उपमा पाउँदै आएको छ । विकासोन्मुख अवस्थामा रहेको यो जिल्लाको विकासको गति तत्कालीन सशस्त्र द्वन्द्वयता सुस्त हुँदै आएको हो । तर पछिल्ला वर्षहरुमा भने समृद्ध काभ्रेपलाञ्चोकको परिकल्पनासँगै यसको सूचकका रुपमा रहेका राष्ट्रिय गौरवका आयोजनाले प्राथमिकता पाइरहेका छन् । यी आयोजनाको विकाससँगै ‘समृद्ध काभ्रेपलाञ्चोक’ को सपना साकार बन्दै गएको महसुस यहाँका नागरिकले गर्न थालेका छन् ।
परिवर्तित राजनीतिक समीकरणपछि स्थिर र स्थायी सरकारको आगमनसँगै अब भने यहाँका योजनाबाट काभ्रेपलाञ्चोक जिल्ला बत्तीमुनिको अँध्यारोको उपमाबाट ‘उज्यालो’ तर्फ उन्मुख भएको पाइएको छ । राष्ट्रिय गौरवका दीर्घकालीन योजनाको शुरुवातीसँगै आगामी वर्षका योजनाले झन काभ्रेलीलाई उत्साहित बनाएको देखिएको छ । यसको श्रेय जनताका प्रतिनिधिलाई दिँदै हरेक क्षेत्रबाट उनीहरूको चर्चा–परिचर्चा पनि भइरहेको छ । चालू/क्रमागत योजनाले जिल्लाको मुहार फेरिनेमा विश्वस्त काभ्रेलीलाई थप राष्ट्रिय गौरवका आयोजनाले समृद्ध काभ्रेपलाञ्चोकका लागि थप ऊर्जा प्रदान गरिरहेको छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय काभ्रेपलाञ्चोकमा शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा परिचित अब्बल संरचना छन् । नागरिकका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै थप परिस्कृत बनाउने र प्रविधिसँगै आधुनिकतामा ढाल्ने खालका योजना काभ्रेपलाञ्चोकमा अघि सारिएका छन् । निर्माणाधीन विभिन्न राष्ट्रिय राजमार्ग, स्थानीयस्तरमा सडक निर्माण, शैक्षिक संस्था, पुल तथा पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज), निर्माणाधीन तेमाल खानेपानी आयोजना, पाँचखालमा बृहत् एकीकृत खानेपानी, युवा एभिएसन सेन्टर र मदन भण्डारी विश्वविद्यालय, बनेपास्थित साँगामा प्रतिरक्षा विश्वविद्यालय, सिँचाइ र तीन नगरलक्षित करिडोर, सौर्य ऊर्जा तथा ग्रामीण विद्युतीकरण, सुरक्षण मुद्रण केन्द्रलगायत दीर्घकालीन महत्वका दर्जनौँ आयोजनाले काभ्रेपलाञ्चोकको मुहार फेरिनेमा यहाँका स्थानीय नागरिक विश्वस्त देखिएका छन् । यसअघि चीन जोड्ने अरनिको राजमार्ग र मध्यपहाडी बिपी राजमार्गले पनि जिल्लाका बासिन्दाको जीवनशैलीमा एक फड्को मारिसकेको महसुस भएको छ ।
यसका साथै दुर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग जोड्ने रोशी, कोशी र डाँडापारि क्षेत्रमा पुल÷सडक निर्माणका नयाँ योजनाले जिल्लाको ‘कायापलट’ नै गराउने देखिएको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि हालै प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । काभ्रे भ्याली स्मार्ट सिटी, भक्तपुरदेखि धुलिखेलसम्म ६ लेनको राजमार्ग निर्माण, ललितपुर ग्वार्को–काभ्रेपलाञ्चोक, कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत पहाडी रेञ्जमा ट्रेल, बुद्ध सर्किट, कोशीपारि जोड्ने चेहेरे पुल, स्थानीय तहका बृहत् खानेपानीजस्ता महत्वपूर्ण आयोजनामा बजेट विनियोजन भएका छन् । आउँदो आवको बजेटमा १११ मेगावाटको कोखाजोर जलाशययुक्त विद्युत् आयोजना, मादनकुँडारी ३३ केभिए विद्युत्, पाँचखाल उपत्यका जलस्रोत आयोजना, सामुदायिक तथा ग्रामीण विद्युतीकरण तथा निर्माणाधीन विद्युतीकरण आयोजना प्राथमिकतामा परेका छन् ।
निर्वाचनका समय जनतासँग गरेका वाचाअनुरुप विश्वासको मतको कदरस्वरुप केन्द्रीय सरकारमार्फत आयोजना ल्याइएको पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेकपा काभ्रेपलाञ्चोकका इन्चार्ज गोकुलप्रसाद बाँस्कोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताको विश्वासलाई कहिल्यै धोका दिएको छैन, दिने पनि छैन ।” उहाँले गतवर्षका चालू योजनाले समृद्ध काभ्रेपलाञ्चोकको अभियान शुरु भएको उल्लेख गर्दै यसवर्ष थप राष्ट्रिय गौरवका योजना समावेश हुनुले समृद्धिमा सामेल भइने दाबी गर्नुहुन्छ । “जिल्लामा प्रदेश सरकारको योजना त आउनै बाँकी छ, अब काभ्रेली जनता विश्वासपूर्णरुपमा ढुक्क हुनुपर्छ”, बाँस्कोटाको सुझाव छ ।
हाल केन्द्रीय सरकारबाट काभ्रेपलाञ्चोकका लागि १०४ योजनामा बजेट विनियोजन भएको हो । बाँस्कोटाले आफू सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सामुदायिक विद्यालयलाई ‘डिजिटलाइजेशन’ गर्ने अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९६ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “प्रत्येक विद्यालयमा २४ कम्प्युटरसहित ब्याकअप व्यवस्थित गरिएको छ, यस अभियानअन्तर्गत देशभरका सामुदायिक विद्यालयमा सूचना–प्रविधिलाई सहज बनाउने उद्देश्य लिएका थियौँ ।” अर्का प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ केन्द्रीय सरकारले सिँचाइ, ग्रामीण विद्युतीकरण र कोशीपारि जोड्ने पुललाई प्राथमिकता दिएकामा खुशी व्यक्त गर्नुहुन्छ ।
पाँचखालमा निर्माण गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक अर्ब २० करोड विनियोजन भएको छ । पाँचखालको ७, १० र १२ नं तथा नमोबुद्ध नगरपालिकाको २ र ३ नं वडास्थित निजी तथा सरकारी ११ हजार ६१ रोपनी जमिन व्यवस्थापन गरिएको छ । हाल विश्वविद्यालय पूर्वाधार विकासका नाममा जमिन हस्तान्तरण प्रक्रिया सकिएको छ । जिल्लाको महत्वपूर्णमध्ये एक मानिएको यो योजनाका लागि व्यक्तिका नाममा रहेको ७१४ रोपनी जमिन पनि अधिग्रहण प्रक्रिया सकिएको छ । उक्त विश्वविद्यालय निर्माणको निर्णयपछि निर्माण क्षेत्रको अवलोकनका लागि उच्च ओहोदाका व्यक्ति पनि निर्माणस्थलमा आउन थालेका छन् ।
मदन भण्डारी विश्वविद्यालयसँगै आउँदो वर्ष जिल्लामा दुई विश्वविद्यालय निर्माण हुने भएका हुन् । बनेपा नगरको साँगामा निर्माण गरिने ‘प्रतिरक्षा’ विश्वविद्यालयका लागि रु २० करोड ३४ लाख विनियोजन गरिएको छ । उक्त विश्वविद्यालय निर्माणको पनि विस्तृत कार्ययोजना (डिपिआर) तयार भइरहेको जनाइएको छ ।
अर्को महत्वपूर्ण आयोजना बनेपा–पनौती क्षेत्रमा अवस्थित सूचना प्रविधि पार्कमा स्थापना गर्न लागिएको सुरक्षण मुद्रण केन्द्र हो । यसको पूर्वाधार निर्माणका लागि पहिलो चरणमा रु ३० करोड ४० लाख छुट्याइएको छ । पार्क क्षेत्रमा उक्त पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ । काठमाडाँैस्थित कोटेश्वर–बानेश्वर सडक खण्डसँगै भक्तपुर, सूर्यविनायक–काभ्रेपलाञ्चोक धुलिखेल ६ लेन सडक निर्माणका लगि एकमुष्ट रु एक अर्ब २० लाख बजेट विनियोजन भएको छ । साथै, अरनिको राजमार्ग सूर्यविनायकदेखि दोलालघाटसम्म सडक स्तरोन्नतिका लागि रु सात करोड ४० लाख तथा बिपी राजमार्गअन्तर्गत धुलिखेलदेखि सिन्धुलीको सिमानासम्मका लागि रु ५३ करोड सात लाख बजेट छुट्टिएको छ ।
काभ्रेपलाञ्चोकको अर्को महत्वपूर्ण एवं दीर्घकालीन योजनाका रुपमा पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजना रहेको छ । यसका लागि रु ३४ करोड ४१ लाख विनियोजन भएको छ । काभ्रेपलाञ्चोक समृद्ध बन्ने सूचकका रुपमा ३१ क्रमागत योजना छन् भने चार योजना नयाँ हुन् । बनेपा, पनौती र धुलिखेल नगरक्षेत्रको महत्वपूर्ण आयोजना करिडोर निर्माण शुरु भएको छ । यसका लागि क्रमागतरुपमा गत सालदेखि नै करोडौँ बजेट विनियोजन भइरहेको छ ।
मण्डनदेउपुरमा तीन र धुलिखेलमा दुई सिँचाइ योजनामा रु १० करोड नौ लाख, दोलालघाट–फलाँटे–कोलाती–पोखरीचौंरी सडक कालोपत्रका लागि रु ३३ करोड, काभ्रेपलाञ्चोकको १३ तहमै कृषि कार्यक्रम सञ्चालन गर्न रु नौ करोड ३१ लाख तथा काभ्रेपलाञ्चोक भ्याली स्मार्ट सिटी पूर्वाधार निर्माणका लागि रु पाँच करोड ९० लाख बजेट विनियोजन भएको छ । विनियोजित योजनामध्ये बनेपा नगरमा २६, पाँचखाल नगरमा २०, मण्डनदेउपुरमा २०, धुलिखेल नगरमा १५, बेथानचोक गाउँपालिकामा पाँच, नमोबुद्ध र भुम्लु गाउँपालिकालगायत स्थानीय तहका विभिन्न योजनामा बजेट छुट्याइएको हो ।
समग्र योजनामध्ये समपूरक अनुदानमा पाँच र विशेष अनुदानमा चार परेका छन् । पुल निर्माणका १६ योजना छन् । ललितपुरको गोदावरी कुण्ड–काभ्रेपलाञ्चोक, पनौतीस्थित मानेचौर सुरुङमार्ग अध्ययन तथा शङ्खु–नमोबुद्ध दाप्चा सडकका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । यो वर्षदेखि काभ्रेपलाञ्चोकमा सुरुङमार्गको सम्भाव्यता अध्ययनको शुरुवात गरिने पूर्वमन्त्री बाँस्कोटले बताउनुभयो । “पहिलो अध्ययनले अपेक्षित परिणाम देखिए जिल्लामा सुरुङमार्गलाई बजेटको प्राथमिकतामा राखिनेछ”, उहाँले भन्नुभयो । उहाँले पहाडी भूभाग रहेको क्षेत्रमा सुरुङमार्ग, लिफ्टिङ खानेपानी र सिँचाइलाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराइने बताउनुभयो ।
जिल्लामा अर्बमाथिसम्मका महत्वपूर्ण दीर्घकालीन योजना आउनुमा जनप्रतिनिधिको क्षमतामा पनि भरपर्ने बताउनुहुन्छ पाँचखालका कञ्चन अधिकारी । उहाँ भन्नुहुन्छ, “हामीले पहिल्यै अड्कलबाजी गरेका थियौँ, समृद्ध काभ्रेपलाञ्चोकका लागि हाम्रा जनप्रनितिधिले कुनै कसर बाँकी राख्नुहुने छैन ।” उहाँ काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा निर्माण गर्ने चर्चा गरिएको ५३६ मेगावाट जलाशययुक्त विद्युत् उत्पादन तथा विमानस्थल निर्माणको योजनालाई अघि बढाउन जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुहुन्छ । काभे्रपलाञ्चोकको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचित भएको थियो ।