\
स्वास्थ्य

जुम्ला प्रवेशद्वार नाग्ममा हेल्थ डेस्क

जुम्ला, १० चैत । कर्णाली राजमार्गअन्तर्गत जुम्लाको प्रवेशद्वार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, तिला गाउँपालिका स्वास्थ्य शाखा र प्रहरी प्रशासनको समन्वयमा आइतबार हेल्थ डेक्स स्थापना गरिएको हो ।

कर्णाली राजमार्ग हँुदै जुम्ला र मुगु जिल्लामा जाने यात्रुको तापक्रम र स्वास्थ्य परीक्षण गर्ने उद्देश्यल हेल्थ डेक्स स्थापना गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जिल्ला बाहिर विशेषगरी व्यापार–व्यवसाय गर्न छिमेकी राष्ट्र भारतमा जुम्ली धेरै गएका छन् । भारतमा कोरोना भाइरस फैलिएको र त्यहाँ गएका व्यापारी जिल्लामा आउने समय भएकाले उनीहरुबाट सङ्क्रमण आउन सक्ने सम्भावना रहेकाले त्यसको न्यूनीकरणका लागि जुम्लाको प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना गरेको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा कपिल अमगाईंको नेतृत्वमा स्वास्थ्य परीक्षणका लागि तिला गाउँपालिका स्वास्थ्य शाखाका दुई अनमीसहित सात जनाको समूहलाई हेल्थ डेक्समा परिचालन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि जुम्लामा एक हप्तासम्म ‘लकडाउन’ गरिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक सातासम्म जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । कोरोना भाइरस ९कोभिड–१९०को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म ‘लकडाउन’ गरिने भएको हो ।

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो । जुम्लामा मानिसको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन ‘लकडाउन’ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । “अत्यावश्यक सामग्री व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि समिति गठन गरेका छौँ”, उहाँले भन्नुभयो, “जिल्लामा भीडभाड नगरीदिन नागरिकलाई अपिल गरेका छौँ ।”

मानिसको भीडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आवश्यक रहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मङ्गल रावलले कोरोना सङ्क्रमणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

Leave a Reply