झापामा ९ र सुनसरीमा २ जना आज कोरोना संक्रमित थपिए
६ जेठ, काठमाडौं । आज मंगलबार प्रदेश १ मा ११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका २ जना छन् ।
सुनसरीमा देखिएका २ जनामध्ये १ जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् । सोमबार पनि गाउँपालिकाकै १ जना पुरूषमा संक्रमण देखिएको थियो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।
सोमबार १ जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो । संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का १ जना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएसंगै प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।
यो पनि पढ्नुहोस्