देशभर थप ९९४ जनामा कोरोना पुष्टि, १३६८ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६१३७ जनामा पिसिआर परिक्षण गर्दा ७७७ जना र ३७०३ जनामा एन्टीजेन परिक्षण गर्दा २१७ जना गरी ९९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३८ हजार ३४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०९३६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २३० जना, ललितपुर जिल्लामा ८५ जना र भक्तपुर जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४० लाख १४ हजार १८३ पिसिआर परीक्षण भएको छ भने ५ लाख ८ हजार ८४१ एन्टीजेन परीक्षण गरिएको छ भने ३१७ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा र १६४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५६ जना आईसीयूमा र १२२ जना भेन्टिलेटरमा रहेका छन् ।
आजसम्म ५७ लाख ६९ हजार ३२८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५१ लाख ६० हजार ५२४ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।