रहेनन् बरिष्ठ गायक प्रेमध्वज प्रधान
काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षीय वरिष्ठ गायक प्रधानलाई सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको थियो ।
१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोरोना संक्रमणको आशंका गरिए तापनि उनको परीक्षणमा रिपोर्ट भने नेगेटिभ आएको छ ।
संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले सामाजिक संजाल फेसबुकमार्फत प्रधानको निधन भएको जानकारी दिएका छन् । नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधानले ८० वर्ष पार गर्दा पनि गायन यात्रा कायम राख्न सफल भई रहेका थिए ।
नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा ‘नमान लाज यसरी’ गीत गएका थिए । प्रधानले नेपाली चलचित्र जीवन रेखामा ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ लगायतका गीत गाएका थिए ।
प्रधानका ‘तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला’, ‘पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’ जस्ता थुप्रै कालजयी गीतहरु लोकप्रिय रहेका छन ।
प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । नेपाली संगीतका अग्रज धरोहर प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले समेत चिनिन्छ ।
उनले नेपाल भाषाको गीत पनि गाएका छन् । उनको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरनिय क्षति पुगेको छ । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।