\
मुख्य समाचारहेडलाइन

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक सुवास निरौला दोषी ठहर, ७ वर्ष जेल

१० फागुन, काठमाण्डौ । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा अनियमितता भएको ठहर गरेको छ । विशेषले अदालतले बोर्डमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै तत्कालीन प्रमुख कार्यकारी निर्देशक सुवास निरौलालाई सात वर्ष जेल सजाय सुनाएको छ । विषेश अदालतले सीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो, ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ ।

तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् । दासलार्इ ५० लाख २९ हजार रुपैयाँ बिगाे र २४ लाख ३७ हजार रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतले खनाललार्इ भने १ लाख ५४ रुपैयाँ बिगाे ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अवकास प्राप्त पयर्टन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पाैडेलसहित २० जनाले सफाइ पाएका छन् । एक महिनाभन्दा लामो समयदेखिको बहसपछि विशेषले यो फैसला सुनाएको हो ।

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी निर्देशक सीईओ निरौला तीन करोड धरौटी बुझाएर छुटेका थिए । बोर्डमा रहँदा ८१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । अख्तियारले बहालवाला सचिवसहित २३ जना पदाधिकारी समेत समेटेर ५२ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले २३ जनावाट १ अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैयाँ बराबरको बिगो रकम माग दाबी गरेको थियो ।

Leave a Reply