नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो, आज थपिए नयाँ ३०९३ संक्रमित
काठमाडौँ, कार्तिक ४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३०९३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३९१२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३८६१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख १४ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ ।
सक्रिय संक्रमितको संख्या ४१७७५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३५५९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २८१९६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२२० जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४३१ जना, ललितपुर जिल्लाका १२३ जना र भक्तपुर जिल्लाका १४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २१०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९६६०९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो, आज थपिए नयाँ ३७९० संक्रमित