पाल्पामा पहिरोले ३ घर पुरिए, गर्भवतीसहित ६ जना बेपत्ता
पाल्पा, ८ असोज । अविरल वर्षापछि बिहीबार बिहान खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान ३ घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले २ घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । मनबहादुर गाहाको परिवारका ३ जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।
हुमबहादुर गाहाको परिवारमा सुतिरहेका ५ जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा १ जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसेपनि ज्यान जोगाउन सफल भएका थिए ।
पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको छ । प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ ।