भक्तपुर थिमिमा एकै परिवारका ३ जनाको शंकास्पद मृत्यु
भक्तपुर । मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार शुक्रबार साँझ ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृतक अवस्थामा घरमै फेला परेका हुन् । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिए ।
उक्त मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको हो ।