\
मृत्युहेडलाइन

रुपन्देहीको तिलोत्तमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

रुपन्देही, १९ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा–६ पूर्व पौनीमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । माछालाई दाना हाल्ने क्रममा एक्कासि पोखरीमा खसेर ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । पोखरीमा डुबेका चौधरीलाई परिवारले थाहा पाई स्थानीयवासीको सहयोगमा बाहिर निकाली उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेकामा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।

यसैगरी कुलोमा बगेर तिलोत्तमा नगरपालिका–५ कैलाश पथका चार वर्षीय आर्यन परियारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी नायब निरीक्षक रुमबहादुर केसीका अनुसार स्याङ्जाको चापाकोट घर भई तिलोत्तमा–५ मा बस्ने किसान परियारका छोरा आर्यनलाई खेल्नेक्रममा कुलोले बगाएको थियो । करीब ७०० मिटर तल पुगेका आर्यनलाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply