\
मृत्युहेडलाइन

नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

१३ साउन, काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । आमाशय सम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्व बलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

स्व. खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । उनीप्रति सेनाको एक टुकडीले सम्मान स्वरुप अन्तिम सलामी अर्पण गरेको थियो । पुख्र्यौली घर लम्जुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पुर्याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो । यद्यपी, उक्त निर्णय कार्यान्वयन भएन ।

बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले उल्टाएर प्रधानसेनापति कटुवाललाई पुर्नबहाली गरेका थिए । उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजिनामा दिएका थिए ।

कटुवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसगै तत्कालील राजनीतिक घटनाले अर्कै बाटो लियो । सेनापतिले तत्कालीन सरकारको आदेश पालना नगरेको जनाउँदै तत्कालीन सरकारले नागरिक सर्वोच्चताको विषय प्रखर ढङ्गबाट उठाएको थियो ।

Leave a Reply