\
दुर्घटनाहेडलाइन

मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट ३ जनाको मृत्यु

विराटनगर, असार १२ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबारराति ३ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जानकरी दिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार सुरुमा स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री अन्दाजी ४०/४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए। ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका-२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु भएपनि पहिचान नखुलेका २ जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको छ ।

स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ । झापाको दमकमा दुई जनालाई छाडेर स्कोरपिओ इटहरीतर्फ फर्कँदा दुर्घटना भएको छ ।

Leave a Reply