आयल निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य, नागरिकको ढाड सेक्दै दियो सास्ती
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।
डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले बढाएर आयल निगमले नागरिकको ढाड सेक्दै सास्ती दिएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० पुगेको छ भने डिजल र मट्टीतेल प्रतिलिटर ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य समेत प्रतिलिटर २ रुपैयाले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।