कविता – दीपावली

ॐ श्रीपरमात्मने नम: ।
दीपावली पर्व अनन्य आयो
मूर्धन्य माया ममता मिलायो
आनन्दका सागरमा डुवायो
भातृत्वलाई गतिलो बनायो ।। १।।
उत्साह निष्ठा दिलमा जगायो
उद्देश्यमा दिव्य कला सजायो
अध्यात्मका पाठहरू पढायो
आलोक छर्दै प्रिय पर्व आयो ।।२।।
आनन्दका आसनमा बसायो
आस्था जगाई दुनियाँ मनायो
आमोदका गीतहरू सुनायो
आशा उमारी प्रियता पिलायो ।। ३।।
आधार हाम्रा गतिला बनायो
आदर्शका मार्गहरू बढायो
आख्यान राम्रा भवमा चिनायो
बालेर बत्ती रजनी रिझायो ।। ४।।
बैनी दिदी दाइ र भाइ रम्छन्
दीपावली पर्व मिलेर मान्छन् ।
यो चाडलाई अनमोल ठान्छन्
यो पर्व मानेर विमुग्ध हुन्छन् ।।५।।